काठमाडौं ३०, फागुन ।
प्रधानमन्त्री केपीशर्मा ओलीले आसन्न चीन भ्रमणको एजेण्डाबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतसँग परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार विहान पार्टी बैठकमा तथा साँझ पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वमन्त्री, सचिवहरूलगायतसँग भ्रमणको एजेण्डा बारे परामर्श लिनुभएको हो । भेटपछि नेपाल परिक्रमासँग पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले भ्रमण दुई देशको आपसी हित, सहयोग अभिबृद्धि तथा विकास साझेदारीमा केन्द्रित गर्न सुझाब दिएको बताउनुभयो । उहाँले विकास निर्माण, व्यापार विस्तार, चिनियाँ लगानीका बृद्धि तथा ठूला परियोजनाको गतिशीलतामा भ्रमण सफल हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै, पूर्व अर्थमन्त्री समेत रहनुभएका कांग्रेस नेता डा. रामशरण महतले चीनीया लगानीका परियोजनाको निर्माणलाई छिटोछरितो गर्ने, व्यापार आदानप्रदान, लगानी अभिबृद्धि र सम्बन्ध सुधारमा भ्रमण सफल बनाउन सुल्झाएको बताउनुभयो । भेटमा सहभागी परराष्ट्रविद्हरूले चीन र नेपाल नजिकका छिमेकी भएको स्मरण गराउँदै व्यापार साझेदारी, आपसी सहयोग आदानप्रदान, उर्जा, भौतिक पूर्वाधार, निर्माणलगायतमा भ्रमण फलदायी बनाउनुपर्ने धारणा राखेका थिए । पूर्व प्रधानमन्त्री तथा परराष्ट्रविद्सँग प्रधानमन्त्रीको परामर्श भनिएपनि भेटवार्तामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बाहेकका पूर्व प्रधानमन्त्री सहभागि थिएनन ।