जाजरकोट–फागुन २७ । जाजरकोटको अर्छानी गाउँ विकास समिति वडा नम्बर ९ तम्तीमा निर्माणाधिन ३५ किलोवाट क्षमताको तिलिङ्गे खोला लघु जल विद्युत आयोजना अलपत्र परेको छ । आयोजना निर्माणमा भौगोलिक विकट्ता, लागत अनुसारको रकमको अभाव र स्थानीयले श्रमदान नगर्दा विजुली बाल्न नसकेको आयोजनाका अध्यक्ष रण बहादुर शाहीले बताउनु भयो । जलविद्युत आयोजनाले अर्छानीे गाविसको ७, ८ र ९ वडामा विजुली बत्ती बाल्ने गरी काम हुन लागेको थियो । २०६३ सालमा निर्माण सम्पन्न गर्नु पर्ने आयोजना पुरा नहुदा ३ सय ५५ घर परिवार विद्युत बाल्नबाट बन्चित छन । निर्माण सामग्रीमा खिया लागेको छ भने सामग्री अलपत्र अबस्थामा छन् । दुई करोड ६६ लाख लागतमा निर्माण हुने आयोजना अलपत्र परेको हो । आयोजना निर्माणका लागि बैकल्पीक उर्जाको १ करोड १० लाख ६२ हजार, जिल्ला विकास समितिको ३ लाख ७८ हजार र गाविसको २ लाख २० हजार रुपैंया प्राप्त भएपनि रकम अपुग भएको आयोजनाले जनाएको छ । प्राप्त रकममध्ये १ करोड ७४ लाख सामान खरिदको लागि कम्पनीलाई दिएको, ८ लाख ६५ हजार हेलिकप्टरबाट सामान ढुवानी गरेको र २ लाख ४० हजार गाडीबाट ढुवानी गरेको समिति अध्यक्ष शाहीको भनाई छ । आयोजना निर्माणका लागि प्राप्त रकम ढुवानीमा सकिएपछि बांकी काम गर्न समस्या भएको आयोजनाले जनाएको छ । आयोजनाका लागि अझै ५० लाख रकम अपुग रहेको अध्यक्ष शाहीले बताउनु भयो । जिविसको ३३ लाख र गाविसले २४ लाख दिन बााकी छ ।