“खै आवाज विहीनको आवाज ?”

पुण्यप्रसाद धमला ।
हिजोआज पत्रकारितामा युवा आकर्षण बढ्दो छ । तर पत्रकारिताको यस्तो आकर्षण र संख्यात्मक बृद्धिले गुणात्मक फड्को मार्न सकेको छैन् । सूचनाको सहज पहुँच र सबै क्षेत्रमा स्थापित हुन सकिने भएपछि पत्रकारितामा युवा आकर्षण बढ्नु स्वभाविक होला । अनि कुनै पेसा प्रतिको आकर्षणमा अभिरुची अथवा स्वार्थ पनि गासिएको हुन्छ । यी यावत कुराले पत्रकारितामा युवालाई आकर्षण गरेको छ । तर अहिलेको पत्रकारिता अभ्यासले व्यवसायिक रुपमा यस क्षेत्रमा लागेकालाई सन्तुष्टी दिन सकेको छैन ।

भन्ने गरिन्छ, पत्रकारिता आवाज विहीनहरुको आवाज हो । तर हामी यसको विपरित बोल्नसक्ने र बोलिरहनेहरुका अघिपछि घुमिरहेका छौँ । दुरदराज, झुपडीमा भन्दा बढी नेताको बोलीमा समाचार भेटिरहेका छौँ । प्रमुख छापा र विद्युतीय संचारमाध्यमका ५० प्रतिशतभन्दा बढी समाचार ‘भन्नुभयो’ र ‘गर्नुभयो’ मा आधारित छन् । केन्द्र मात्रै होइन, मोफसलबाट समेटिने समाचार पनि स्थानिय सर्वसाधारणका कथा, व्यथा र भोगाईमा आधारित छैनन ।  सिद्धान्तत: पत्रकारिता कमजोरहरुको हतियार हो । एउटा अंग्रेजी भनाई पनि चर्चामा छ – खयष्अभ या तजभ खयष्अभभिकक जो बोल्न सक्दैनन् वा जसलाई सुनिदैन, जुन समस्या कहिल्यै राष्ट्रिय बहस बन्दैनन्, ती आवाज जुन राज्यबाट सम्बोधन हुँदैनन, यी नसुनिनेका आवाज सञ्चारमाध्यमले बोल्नुपर्थ्यो, लेख्न पर्थ्यो । सर्वसाधारणहरु, जो राज्य र पहुँचवालाको गतिविधिबाट टाढा छन्, वा उनीहरुको पहुँच राज्यको प्रमुख संयन्त्र रहेको सिंहदरबारसम्म पुग्दैन ।

त्यहाँका सुचना अर्थात तिनका बारेमा सही तथा यथार्थ जानकारी सञ्चारमाध्यमले सार्वजनिक गर्नुपर्छ । तर हाम्रो पत्रकारिता विपरित धारमा छ । राज्यले के गरिरहेको छ, कहाँ के भइरहेको छ भन्ने कुराको जानकारी एउटा साधारण नागरिकले मिडियाबाट नै थाहा पाउँछ । अभिभावकत्व दिने राज्य न्यायिक छ वा छैन, जनहितमा काम गरेको छ वा छैन भन्ने कुरा एउटा साधारण नागरिकले मिडियाको त्यही खबरका आधारमा छुट्याउँन सक्छ । जनता र राज्यबीचको संवादको सहज र भरपर्दो माध्यम पनि मिडियाले नै हो । राज्यलाई हरेक पाइला पाइलामा खबरदारी गरिरहने र जनतालाई सचेत तथा सुसुचित बनाउने भूमिका सञ्चार जगतकै हो । होइन भने राज्य जनताप्रति अनुदार पनि हुनसक्छ । यसैले पनि हो, आमसञ्चार जगतलाई राज्यको चौथो अंग भनिएको । जसले सुचना मात्रै दिदैन, गलत गर्नेहरुको पहिचान गरेर राज्यलाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।

अझ हिजोआज त गैरसरकारी संस्थाले कुन ठाउँमा के कार्यक्रम गरे भन्ने कुरा समाचार बनिरहेका छन् । समाचार बन्न कि त प्रभावशालि वा शक्ति सम्पन्न नेता कि त पैसावाला संघ संस्था हुनुपर्छ भन्ने आम बुझाइ सिर्जना हुन थालेको छ । तारे होटेलहरुमा कार्यक्रम गर्न नसक्ने र प्रभावशालि नेतालाई कायक्रममा अतिथि बनाउन नसक्ने संघ संस्था पनि समाचारबाट ओझेलमा छन् । सामाजिक महत्व र सामाजिक सुरक्षाका भन्दा राजनीतिका समाचार बढि सञ्चारमाध्यममा अटाउने गरेका छन् ।

अझ राजनीतिमा पनि सानाका भन्दा ठुलाका कुरा लेखिने गर्छन । राजधानीबाट प्रकाशित/प्रशारित प्रमुख मिडियामा मोफसलका समाचारले निकै कम स्थान पाएकाछन । स्थानपाए पनि कहिल्यै प्राथमिकतामा पर्दैनन । सिमित विज्ञापन बजारलाई समाचारको क्षेत्र र श्रोत विस्तारको बाधक मानिएको छ । तर यो मात्रै कारक होइन । पत्रकारिता सम्मानजनक पेशाको रुपमा रहे पनि चुनौती त्यति नै रहेको छ । आफू अनुकुलको समाचार प्रकाशन तथा प्रशारण नभएको निहुँमा अझैं पनि पत्रकारहरुले धम्की तथा आक्रमणको तारो बन्नु परिरहेको छ । जोखिम उठाउदा सञ्चार संस्थाको साथ नपाउने समस्याका कारण पत्रकारहरु कम जोखिम उठाउने बन्न थालेका छन् । योसँगै कर्पोरेट मिडिया हाउसमा नियुक्त हुने सम्पादकले आफु आवद्ध मिडियाको व्यापार फस्टाउने खालका समाचार बढी उत्पादन गर्छ वा स्वतन्त्र भएर देश र समाजका विषयवस्तुलाई बढी उठान गर्छ भन्ने सवालले पनि समाचार प्रकाशन/प्रसारणलाई गुणात्मक बनाउन सकेको छैन ।

यस्तै, समाचार र यसको बिषयबस्तुलाई संस्थामा आवद्ध पत्रकारले नियुक्ति पत्र पाउछ वा पाउदैन, न्युनतम पारिश्रमिक छ वा छैन, उनीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिइएको छ वा छैन भन्ने बिषयले पनि प्रभाव पारेको छ । पहिलो कुरा त मिडियाले आफ्नो खास दायित्व बोध गर्नैपर्छ । दोश्रो कुरा विषयवस्तुलाई प्रभावकारी ढंगले उठान गर्ने र पठनीय बनाउने कलात्मक शिल्पी पत्रकारहरुमा हुन जरुरी छ । ‘फाइभ डब्लु वान एच’ को रीत पुर्‍याएर सामान्य टिपोट जस्तो समाचार लेख्ने वानीको सुधार पनि आवश्यक छ । कुनै प्रभावशाली नेताका पछि कुनै एउटा मिडिया कुदेको देखेपछि तत्काल अरु मिडिया कुदिहाल्छन् । यस्तो प्रवृत्तिको सुधार आवश्यक छ । अब पहुँच र प्रभावमा हुनेको आवाज होइन, मोफसल र बोल्न नसक्नेको आवाज बोक्न सञ्चार जगतले भुमिका खेल्नुपर्छ । साना पत्र पत्रिकाहरुमा मात्र होइन, ठुला भनिएका दैनिक पत्रिकाहरुमा अधिकांश समाचारहरु एकै प्रकृतिका हुन्छन् ।

अपवाद बाहेक दिनहुँ राजनीतिक गतिबिधि र नेताका भाषण नै छापिदैआएका छन्, समाचारको श्रोत बन्दै आएका छन् । नेताको भाषण दैनिकजसो छाप्न तयार हुने तर राष्ट्रिय महत्व राख्ने मोफसलको विकासका समाचार, झुपडीका समस्याहरुलाई स्थान नै नदिने प्रवृति तत्काल अन्त्य हुनुपर्छ ।  पत्रकारहरुको व्यवसायिक दक्षता राम्रो भएन भने मिडिया हाउस पनि फस्टाउन सक्दैनन । अब ढिला नगरि पत्रकारिता भित्रको संख्यात्मक फड्कोलाई गुणात्मक फड्कोमा रुपान्तरण गर्नैपर्दछ । यसका लागि हाम्रो पत्रकारिताको श्रम अभ्यास, श्रमजीवी पत्रकारहरुको खास अवस्थाको गहिरो अध्ययन गरिनु आवश्यक छ । सँगै मिडिया हाउसभित्रको श्रम अभ्यास पनि सुधार गर्न जरुरी छ । पत्रकारितामा ढुक्कसँग जमेर आफ्नो जीवन धान्न सक्ने स्थिति अझैपनि विकास भएको छैन । बाध्यताले पेशामा रहिरहनुपरेको छ । यी यावत समस्या सुधार गर्दै पत्रकारितालाई अपेक्षाकृत लक्ष्य र आवश्यकता पुरा गर्न सक्ने बनाउने वा नेताको वरिपरि घुमिरहने ? यतातर्फ राज्यसँगै संबन्धित सबै पक्षले सोच्ने बेला आएको छ ।

तपाईको प्रतिक्रिया