काठमाडौ–फागुन, २५ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । आयोगका पदाधिकारीहरूले काम सुरु गरेको एक महिनामै सामूहिक राजीनामा दिएका हुन् । पटक–पटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले राख्दै आएको मागबारे छानबिन गर्न गत भदौ ३१ मा पुनरावेदन अदालतका पूर्वन्यायाधीश नारायण दाहालको संयोजकत्वमा महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना र डा. जीवन क्षेत्री सदस्य रहने जााचबुझ आयोग गठन गरिएको थियो । माघ १२ देखि काम सुरु गरेको आयोगका संयोजक दाहाल र सदस्य क्षेत्रीले शुक्रबार शिक्षा सचिवमार्फत प्रधानमन्त्री कार्यालयलाई राजीनामा दिएका हुन् । त्यस्तै अर्का सदस्य सहन्यायाधिवक्ता तिमल्सिना सरकारी कर्मचारी भएकाले राजीनामा दिएका छैनन् । विश्वविद्यायलहरूले दिएको मेडिकल कलेजको सम्बन्धन, भर्ना प्रक्रिया, कलेजमा सिट घटबढको प्रक्रिया, कलेजले लिने शुल्क, मेडिकल कलेजको कामलगायत विषयमा अध्ययन गरेर तीन महिनाभित्र सरकारलाई सुझाव दिन आयोग बनाइएको थियो ।