युवा राजनीतिज्ञको रोवर्ट शैली


– सुवाचन्द्र भण्डारी । भनिन्छ राजनीति विचार, सिद्धान्त र योजनाहरूको कुम्भ हो । यहाँबाट हजारौं विचारहरू जन्मिन्छन्, हुर्किन्छन् अनि फस्टाउँछन् । राजनीति केवल दुई/चार जना नेता कार्यकर्ताको दैनिकी मात्रै नभई आम जनताको आर्थिक, सामाजिक बिषयबस्तुसँग प्रत्यक्ष सम्बन्ध राख्ने अमूर्त शक्ति हो । राजनीतिमा जति धेरै विचारहरू जन्मिए त्यति नै राजनीतिक दल, सिङ्गो राजनीति र देश नै चलायमान बन्छ । राजनीतिक दलभित्र उब्जिएका विचारहरूलाई सहि तरिकाले ब्यवस्थापन गर्ने र राजनीतिलाई सहि गति दिने क्षमता राजनीतिक नेतृत्वले राख्नुपर्नेमा कसैको दुई मत रहन्न । यसो भन्दैमा राजनीतिक कार्यकर्ताको कहिँ कतै केहि भूमिका र जिम्मेवारी रहँदैन भन्ने किमार्थ सत्य होइन । पछिल्लो सात दशक भन्दा लामो नेपाली राजनीतिको इतिहासमा राजनीतिक कार्यकर्ता र नीति निर्माण तहसम्म पुगेका युवा नेताहरू समेत सधैं सधंै नेतृत्वको आदेश पालना गर्ने रोबर्टको भूमिका निर्वाह गरिरहे । देशको राजनीतिको मूलधारमा रहेको र देशको शासनसत्ताको बागडोर पटक–पटक सम्हालेका राजनीतिक दलका भातृ संगठन र तीनका नेता तथा कार्यकर्ता केही शीर्ष नेताको इशारामा झुण्ड–झुण्डमा विभाजित भइरहे । राजनीतिमा नयाँ बिचार जन्मिनु र त्यसै विचारमा मत अभिमत सिर्जना हुनु स्वाभाविक हो । तर नेपाली राजनीतिको इतिहासमा त्यसो नभएर केवल केही नेताको सत्ता र शक्तिमा टिकिरहने होडबाजी चलिरह्यो र त्यसै अनुरूप कार्यकर्ताहरू पनि फरक–फरक गुट उपगुटको हाँगा बिङ्गामा अल्झिरहे । सात दशक भन्दा लामो संक्रमणकालिन राजनीतिमा २००७, २०४६, र २०६२/६३ मा तीन ठूला राजनीतिक परिबर्तनहरू भए । यी सबै राजनीतिक परिवर्तनमा युवा कार्यकर्ताको भूमिका अमुल्य रह्यो । ९० प्रतिशत भन्दा बढी शहिद पनि युवा कार्यकर्ता नै भए । तर यति ठूलो आन्दोलनहरूमा अधिकतम बलिदान दिने युवा कार्यकर्ता सहि विचार र सिद्धान्त लिएर अगाडी आउन पटक्कै सकेनन् ।

              युवा नेतृत्वको चरम बहस चलिरहँदा केही बृद्ध नेताहरूले राजनीतिमा लडेर लिनुपर्छ मागेर पाइदैन भन्न समेत भ्याए । यस किसिमको भनाइहरूको उचित जवाफ दिन र आफ्नै बिचार सिद्धान्त अनि सहि योजनामा राजनीतिक दल सँगसँगै सिङ्ग्गो देशलाई अघि बढाउन नेपाली युवा पुस्ता आजसम्म पनि असफल छ भन्ने कुरामा हामी सबै सहमत छौं । २०४६ सालको राजनीतिक परिवर्तन अघि नगन्य रूपमा रहेको युवा पलायन २०४६ साल पछिका दिनहरूमा प्रवृत्तिको रूपमा विकाश भयो । २०६२/६३ को राजनीतिक परिवर्तनपछि केही आश बोकेका युवाहरू २०७० सम्मको राजनीतिक घटनाक्रम नियाँल्दा स्वदेशमा भविष्य देख्न छोडे । यसको फलस्वरूप शिक्षित अर्धशिक्षित र अशिक्षित सबै खाले युवाहरू देश छोडेर हिड्नेक्रम दिनप्रतिदिन बढ्दै गएको छ । यसरी एउटा सामान्य युवाले आफ्नो देशमा काम गरेर खाने अवस्था नदेख्नु, एउटा लगानीकर्ताले स्वदेशमा लगानी गरेर त्यसको प्रतिफल प्राप्त हुने भविष्य नदेख्नु, अध्यनरत पुस्ताले देशमै बसेर केहि गर्न सक्ने भविष्य नदेख्नु जस्ता कुराहरूको कारकतत्व मुख्य त राजनीतिक अस्थिरता अनि यसका अक्षम नेतृत्व नै हो । नेतृत्व आफैमा असक्षम विचार र सिद्धान्त अनि योजनाविहीन हुँदा हुँदै पनि टिकिरहने र सिङ्ग्गै देशलाई नै गन्तव्यहीन बनाइरहने घटनाक्रममा रोबर्ट शैलीका युवा राजनीतिज्ञ अझै बढि दोषी छन् । राजनीतिक दल र तिनको शीर्ष नेतृत्व भनिने १/२ जनाको इशारामा आफ्नै भातृ सङ्गठनहरूको सम्मेलन तथा अधिबेशनहरू रोक्ने, संगठनभित्र विचारको आधारमा नभई गुट उपगुटको हाँगामा विभाजित हुने, राष्ट्रिय सार्बभौमसत्ता र आम जनजिविकाको सवालमा मुद्दाहरू नउठाउने, नेतृत्वले गरेको गलत निर्णयको बिरोध गर्न नसक्ने आदि प्रबृत्तिले गर्दा आज युवा नेतृत्व त गन्तब्यहीन भयो नै यसको पछाडी सिङ्गो देशनै अनिर्णयको बन्दि बनिरह्यो । आगामी दिनमा यदि देशको राजनीतिलाई सहि दिशा दिने र राजनीतिक परिवर्तनको प्रत्याभूति आम सर्बसाधारण जनतालाई गराउने हो भने राजनीतिक दलभित्र जरो गाडेर बसेको खराब प्रवृत्तिको जरो उखेल्ने हिम्मत युवा नेता तथा कार्यकर्ताले गर्न सक्नुपर्छ । केही नेताको इशारामा चल्न छोडेर सिङ्गगो देश र जनताको हितमा काम गर्ने र राजनीतिक सिद्दान्त प्रतिपादन गर्ने आँट अब युवा कार्यकर्ताहरूले गर्नुपर्छ । १/२ नेताको निहित स्वार्थ छोडेर देशलाई आत्मनिर्भर बनाउने सवालहरूमा, युवा पुस्तालाई देशभित्रै असवर प्रदान गर्ने सवालहरूमा, देशलाई समृद्ध बनाउने सवालहरूमा अनि राष्ट्रिय स्वतन्त्रता र अखण्डताको सवालहरूमा बहस, छलफल र ब्यवस्थित कार्ययोजनाहरू अघि बढाउनुपर्छ । अन्यथा आम जनताको राजनीति प्रतिको बितृष्णा अझै बढेर जाने छ । आउँदो धेरै दशकसम्मको लागि देश केहि शीर्ष भनाउदा नेताहरूको अनिर्णयको बन्दीको रूपमा रहिरहनेछ ।

तपाईको प्रतिक्रिया