अस्ताउँदो विध्यार्थी आन्दोलन,फस्टाउँदो माफियाकरण

– सुवासचन्द्र भण्डारी
विश्वमा नै कुनै पनि देशलाई सुशासन, भ्रष्टाचारमुक्त र सुब्यबस्थित ढङ्गले चलाउनको लागि विद्यार्थी आन्दोलनको अहम भूमिका रहन्छ । नेपालमा पनि २००७ साल वरिपरीबाट सुरू भएको बिध्यार्थी आन्दोलनले बितेको ७ दशकमा धेरै ठूला–ठूला राजनीतिक परिवर्तनमा आफ्नो अमुल्य योगदान दिएको कुरालाई नकार्न सकिन्न । २००७ साल भन्दा अघिबाट नै सुरू भएको विद्यार्थी आन्दोलनले देशै भरी जनजागरण ल्याउने काम मात्रै गरेन हरेक ठूला परिवर्तनका आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुको साथ–साथै धेरै सपूतहरूलाई शहिद बनाएर आन्दोलनको लक्ष्य पूरा गरेरै छोड्यो । सुरूका दिनहरूमा बिद्यार्थी आन्दोलन सांगठनिक र व्यक्तिगत स्वार्थ रहीत तथा बेदाग थियो । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई बन्धक बनाई निरङकुश पञ्चायती व्यवस्था लागु गरेपछि अर्धभूमिगत शैलीको बिद्यार्थी आन्दोलनको तारिफ जति गरे पनि कम नै हुन्छ ।

subas२०३६ सालमा प्रथम पटक स्व.वि.यु.निर्वाचन भएपछि विधिवत मान्यता पाएको विद्यार्थी आन्दोलन क्रमश: आन्दोलनबाट राजनीतिमा परिणत हुँदै गयो । निर्वाचन प्रणाली आफैमा लोकतान्त्रिक अभ्यासको उत्तम प्रयोग भए पनि स्वच्छ प्रतिष्पर्धात्मक निर्वाचन गर्ने–गराउने संस्कारको विकाश हुन नसक्दा न त निर्वाचित स्व.वि.युले केही त्यस्तो उल्लेख्य काम गर्न सक्यो न स्व.बि.यु.प्रति आम बिद्यार्थी तथा सिङ्गो जनमानसको विश्वास धेरै लामो समयसम्म टिक्न सक्यो । विद्यार्थी संगठनहरू तिनका माउ पार्टीको नियन्त्रण भन्दा माथि उठ्न सकेनन् । दल र तिनका सिमित नेताहरूको इशारामा आन्दोलन चर्किने र तिनकै इशारामा मत्थर हुने संस्कार हावी भयो । २०४६ सालको परिवर्तनकामी आन्दोलनमा बिद्यार्थी वर्गले उल्लेख्य योगदान गर्‍यो । तर त्यो योगदान त्यसको उपलब्धि सँग–सँगै ओझेलमा पर्‍यो । २०५२ सालमा तत्कालिन ने.क.पा. माओवादीले जनयुद्ध सुरू गरेपछि त्यसको भात्री संगठन अखिल क्रान्तिकारी समेत युद्धमा होमियो । र जनयुद्धको पहिलो शहिद समेत गोरखाका विद्यार्थी दिलबहादुर रम्तेल भए । राजनीतिक परिवर्तनको लागि जनयुद्धमा होमिएर अखिल क्रान्तिकारीले गरेको योगदान पनि चानचुने छैन । यो वीचमा धेरै भन्दा धेरै शहिद बिद्यार्थीहरू नै भए । तर समय सँग–सँगै विद्यार्थी आन्दोलनलाई एउटा दिशा दिन नसक्दा न उसले उठाएको जनवादी शिक्षाको माग कहिँ–कतैबाट सम्बोधान भयो न त्यसलाई सम्बोधान गराउन उसले थप सङघर्षका कार्यक्रम गर्‍यो । २०६२ र ६३ को पृथक आन्दोलनमा विद्यार्थीहरूको भूमिका पनि पृथक नै रह्यो । एक किसिमले भन्ने हो भने सडक आन्दोलनको नेतृत्व बिद्यार्थी वर्गले नै गर्‍यो । सुरूमा केन्द्रीय क्याम्पस, पी.एन.क्याम्पस लगायत देशका मुख्य क्याम्पस आसपासबाट सुरू भएको निरङकुशता विरोधी आन्दोलन पछि आँधीबेरिमा परिणत भयो ।

तर विडम्बना नेपालमा हरेक पटक ठूला आन्दोलन भए, आन्दोलनले लक्ष्य प्राप्ति पनि गर्‍यो तर पनि कहिल्यै त्यो उपलब्धि स्थायी रूपले स्थापित हुन सकेन । जसले गर्दा हरेक पटकको आन्दोलनलाई निर्णायक आन्दोलन भन्ने नारा राजनीतिक दल र तिनका नेतामा कुनै भत्तजनको भजन जस्तै मुखमा कण्ठ भयो । गणतान्त्रिक नेपालमा गणतन्त्रको सुरूवातमा जम्मा एउटा स्व.वि.यु.निर्वाचन भएपछि अर्को निर्वाचन हुन सकेन । समयमै स्व.वि.यु.निर्वाचन नहुनुमा त्रिभुवन विश्वविद्यालय भन्दा कैंयौ गुणा बढी बिद्यार्थी संगठन र तिनका माउ पार्टीहरू दोषी छन् । विद्यार्थी आन्दोलनका मोर्चाहरू राजनीतिक दलको भातृ संगठनमा सिमित भए । आफूलाई प्रजातन्त्रको ठेकेदार मान्ने नेपाली काँग्रेसको भातृ संगठन ने.वि.संघको महाधिवेशन ९ पटक सम्म स्थगित भयो । युद्धको पृष्ठभूमिबाट स्थापित भएको र आम बिद्यार्थी र जनमानसमा चिनिएको तथा विचारलाई प्रधान मान्दै जसको नीति उसैको नेतृत्व स्वीकार गर्ने दावि गर्ने ए.माओवादीको भातृ संगठन अखिल क्रान्किारीले समेत नेतृत्व चयन बिना नै आफ्नो १९ औं राष्ट्रिय सम्मेलन सकिएको घोषणा गर्‍यो । एमाले लगायत अन्य ठूला–साना दलका विद्यार्थी संगठन पनि यस्तो खाले समस्याबाट मुक्त छैनन् ।

समयमा स्व.वि.यु.निर्वाचन नहुँदा र आन्दोलनका कार्यक्रमहरू क्रमश निष्कर्षविहीन बन्दै जाँदा विद्यार्थी आन्दोलन क्रमश कमजोर हुँदै गयो र शैक्षिक लगायत सबै खाले माफियाकरण क्रमिक रूपले फस्टाउँदै गयो । शैक्षिक मुद्दाको साथ–साथै आम जना–जिविकाको सवालहरूमा सदैव सचेत रही निर्णायक आन्दोलनको मोर्चा सम्हालिरहनुपर्ने विद्यार्थी संगठन तथा स्व.वि.यु.ठेक्का पट्टा र दलालीमा व्यस्त हुन थाल्यो । स्व.वि.युलाई क्याम्पस भित्रको सरकार मान्ने र त्यसकै आडमा ठेक्कापट्टा मिलाउने, कर्मचारी भति गर्ने संस्कार विकृतिको रूपमा विकशित भयो । सामान्य आर्थिक श्रोत र पारिवारिक पृष्ठभूमि समेत देखाउन नसक्ने विद्यार्थी नेताहरूले राजधानी लगायत देशका महँगा शहरहरूमा घर–जग्गा , गाडी जस्ता सम्पति खरिद गर्न थाले । जसले गर्दा सिङगो विद्यार्थी आन्दोलनलाई लज्जित मात्रै बनाएन, इमान्दारिता र विचारको लागि अहोरात्र आन्दोलनको मोर्चामा खट्ने सम्पूर्ण विद्यार्थी कार्यकर्तामाथि समेत असंख्य शंकाको वाणहरू बर्षिन पुग्यो । पछिल्ला बर्षहरूमा शैक्षिक मुद्दामा कुनै ठोस आन्दोलन र संघर्षका कार्यक्रमहरू हुँदै भएनन् भन्दा पनि फरक पर्दैन । आम विद्यार्थी हितमा उठेका मुद्दाहरू पनि ठूला विद्यार्थी संगठनका नेताहरूले आर्थिक चलखेलको भरमा सम्झौतामा टुंग्याएको खबरहरू बाहिर आए । त्यसलाई न आरोपित विद्यार्थी नेताहरूले खण्डन गर्ने प्रयाश गरे न त प्रशासनले नै प्रष्ट पार्न चाह्यो । यसो हुँदा विद्यार्थी आन्दोलन र यसका अगुवा प्रतिको आम विद्यार्थीको विश्वास झन्–झन् कमजोर बन्दै गयो । विद्यार्थी आन्दोलनमा वास्तविक विद्यार्थी भन्दा चुल्ठे र मुन्द्रे तथा टोले गुन्डाहरूको हालीमुहाली बढ्न गयो । त्यस्तहरूले हाँकेको विद्यार्थी आन्दोलनले आम विद्यार्थी र सिङगो नेपाली जनसमुदायको हितमा कुनै मुद्दा उठाउने निष्कर्षमा पुर्‍याउने कल्पनै गर्न सकिन्न् ।

विद्यार्थी आन्दोलनमा आएका यी र यस्तै विचलनहरूले गर्दा शैक्षिक लगायत सबै खाले माफियाकरण झन्–झन् मौलाउँदै गयो । आझ कतिपय ठाउँहरूमा त स्वयम् विद्यार्थी नेताहरूको पूरा साथ र भरोसामा शैक्षिक तथा अन्य खालका माफियाकरण हावी भयो । प्रतिपक्ष कमजोर भएपछी सत्तापक्षले मनोमानी गर्ने नै भए । विद्यार्थी आन्दोलन सदैव प्रतिपक्षको भूमिकामा उभिनुपथ्र्यो चाहे आफ्नै पार्टीको नेतृत्वमा सरकार किन नहोस् । तर त्यस्तो स्थिति नेपाली विद्यार्थी आन्दोलनमा धेरै समय टिक्न सकेन र क्रमश: भ्रष्टाचार दलाली तथा सबै खाले माफियाकरणले राम्रैसँग फस्टाउने मौका पाए । नुनदेखि सुनसम्ममा कालो बजारी र कमिशनखोरी चल्ने यो देशमा शिक्षा र स्वास्थ्य क्षेत्र वैधानिक लुटेराहरूको लुट उद्योग सो सरह भएका छन् । विद्यार्थीहरूको खबरदारी नहँुदा आम माफियाहरूको मनोबल उच्च मात्रै पारेन सरकारलाई थप एक कदम अघि बढेर भ्रष्टाचार गर्न र जनताप्रति अनुत्तरदायी बन्न प्रेरित गर्‍यो ।
यसर्थ नेपाली विद्यार्थी आन्दोलन यो बेला अत्यन्तै लक्ष्य विहीन,वास्तविक विद्यार्थीको साथ र समर्थनविहीन अवस्थामा छ । देशलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन अहम भूमिका खेल्नुपर्ने विद्यार्थी आन्दोलन करिब–करिब निष्क्रिय जस्तै छ । यसलाई विद्यार्थी नेतृत्व र यसका कार्यकर्ताहरूले बेलैमा सोचेर ठोस निर्णय लिँदै एउटा गन्तव्यमा हिंडाउन नसके विद्यार्थी आन्दोलन र यसका नेताको मात्रै भविष्य समाप्त हुने छैन समग्रमा सिङ्गो नेपाली आन्दोलन नै धरापमा पर्नेछ । जसको फलस्वरूप भ्रष्टाचार र माफियाकरण झन् तिव्र गतिमा फैलिँदै जानेछ । यसतर्फ सम्पूर्ण सचेत विद्यार्थी अझ विशेष गरी तिनका अगुवा कार्यकर्ताको ध्यान जाओस् । नेपाली विद्यार्थी आन्दोलन पुन: एक पटक बेदाग ढङ्गले आम विद्यार्थी र सिङ्गो देशको हितमा गन्तब्य सहित अघि बढोस् ।

तपाईको प्रतिक्रिया